ad

जनयुद्धका एक सिपाही ः प्रशान्तको विगत र वर्तमान  


स्कूल पढदा पढदै सेना प्रहरीले उनलाई जवरजस्ती माओवादी जनयुद्धमा लागेको आरोप लगायो । ताप्लेजुङको हाङपाङ ५ को सरस्वती माविमा कक्षा १० पढदै गर्दा लक्ष्मी प्रसाद भण्डारी थियो उनको नाम । सेना प्रहरीको त्यो आरोपले उनलाई अहिले नाम मात्रै बदलाएको छैन, राजनीतिक जिवनमा नै परिवर्तन गराएको छ । २०५८ सालतिरको कुरा हो सेना प्रहरीको टोलीले पक्रिएर आफू र आफूजस्ता सहपाठीका साथै शिक्षकहरुलाई समेत लगेपछि अरु कहाँ कहाँ गए र के के भए ? उनलाई त्यति हेक्का छैन तर सुरक्षाकर्मीको घेराबाट जवरजस्ती आत्मसमर्पणको कागजमा सहीछाप गरेर निस्किएपछि लक्ष्मीप्रसाद भण्डारी उर्फ प्रशान्तलाई चाहिं जनमुक्ति सेना ( माओवादी जनयुद्धको सिपाही ) बनायो । बुबा श्रीप्रसाद भण्डारी र आमा तारादेवीका ११ औं सन्तान मध्येका ८ औं हुन प्रशान्त । रोल क्रमले आठौं नम्बरमा पर्छु , खै के हुन्छ, जन्तरे मन्तरे ...त्यस्तो चांिह थाहा छैन –भण्डारी भन्छन । 
राज्यसत्ता परिवर्तन गर्दै वर्गीय, जातीय, क्षेत्रीय मुक्तिका लागि भनेर लडाई लडेका थिए उनी । त्यसो त स्कूल पढदादेखिनै चेकोभेराको बारेमा थोर बहुत जानेका उनीमा क्रान्तीको भावना सानैदेखि जागेको थियो । त्यसमाथि सेना प्रहरीले स्कूलबाटै पक्राउ गरेर लगेपछि उनमा तत्कालिन राज्यसत्ता विरुद्ध अझै धेरै विद्रोह जाग्यो । जनमुक्ति सेनाको सिपाही बनेर स्कूल पढदा पढदै बन्दुक समाएर युद्ध लडने हिम्मत कसेका उनी जनयुद्धका तत्कालिन कमाण्डर नेकपा माओवादीका अध्यक्ष प्रचण्डको हेडक्वार्टर सम्म सुरक्षा जिम्मेवारी सम्हाल्न पुगे । 
पूर्वदेखि पश्चीम सम्मका धेरै लडाइँहरुमा उनले एके ४७ , एनएमजी, इन्सास, एसएलआर, जीपिएमजी लगायतका हतियारको सहारामा युद्ध लडे । क्रान्तीको दौरानमा उनले छोटै समय भएपनि १७ ठाउँमा तत्कालिन राज्यसत्ताका सुरक्षा अंगहरुसंग आम्ने साम्ने भिडेको तथ्याङक छ उनीसंग । बन्दिपुर मोर्चामा हामीले सबैभन्दा धेरै क्षति ब्यहोर्नु पर्यो–लडाइँका दिनहरुको स्मरण गर्छन प्रशान्त । भोजपुर, ऐसेलु खर्क, धनकुटा, इलाम, बेलबारी, पौवाखोला, चिसापानी, ( बन्दिपुरबाट फर्किँदा) हुँदै अन्तीम लडाइँ लडेका थिए विर्तामोडमा । त्यसबेला सम्ममा युद्धको दौरानमा कहाँ कति सफलता हासिल भयो ? उनलाई ति दिनहरु र त्यो क्षणका बारेमा खुलेर कुरा गर्न अप्ठयारो लागेर आउँछ अहिले । किन त ? प्रशान्त भन्छन– हेर्नुहोस त्यो भनेको युद्ध थियो । युद्धको चोट, घाउ हामीसंग पनि छ हामीले जसका विरुद्धमा लडयौं उनीहरुसंग पनि छ । त्यो एउटा इतिहासको कालखण्डमा चाहेर होइन नचाहेर भएको घटना हो । त्यसको कुरा गर्दा अहिले हामीलाई पनि नराम्रो लाग्छ, उहाँहरुलाई पनि लाग्न सक्छ । त्यता तिर फर्किनु कसैका लागि राम्रो होइन । 
सधैं जिम्मेवार बनें 
शान्तीप्रकृयासंगै प्रशान्त अरु जनमुक्ती सेना जस्तै अनमिनको मध्यस्थतामा राखिएको जनसेनाको शिविरमा बसे । चुलाचुलीस्थित जनसेनाको प्रथम डिभिजनमा रहँदा उनी जनसेनाको बटालियन भाइस कमाण्डर भईसकेका थिए । प्रशान्त भन्छन– म शिविरमा बस्दा होस वा बाहिर निस्किएर प्रायजसो सधैं कुनै न कुनै महत्वपूर्ण जिम्मेवारीमै रहें । तर पार्टी जिवनमा मैंले कहिल्यै त्यस्तो कुनै स्वार्थ राखिंन । स्वैच्छिक अवकाश रोजेर शिविरबाट बाहिरएपछि उनी खुल्ला राजनीतिमा आए । पार्टीको युवा दस्ता वाइसिएलको झापा क्षेत्र नं ६ को अध्यक्ष हुँदै जिल्ला उपाध्यक्ष र अध्यक्ष समेत बने । उनी भन्छन– राजनीतिक दौरान सधैं एकै नहुँदो रहेछ मैंले नचाहँदा नचाहँदै पनि २०६८ तिर तत्कालिन जिल्ला पार्टीसंग मेरा केही असन्तुष्टि रहेकै हुन । म केही समय निष्क्रिय जस्तै भएँ । तर पनि राजनीतिक जिवनमा विश्राम भनेको चाहिं हुँदो रहेनछ म राजनीतिबाट टाढा कहिल्यै हुन सकिंन र जिवनमा राजनीति र सामाजिक सेवा भन्दा बाहिर सोचेको पनि छैन । उनको यो भनाई जस्तै उनी तत्कालिन केही समय डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीमा पनि आवद्ध हुन पुगे । त्यहाँ पनि देवेन्द्र पौडेलको नेतृत्वमा ध्रुवीकरण अभियान शुरु भयो । त्यही अभियानमा सहभागि हुँदै नेपालका कम्युनिष्ट पार्टीहरु बिचको एकता प्रयासमा लागेका छन प्रशान्त । 
एकता खुशीको कुरा ः व्यवस्थापन जरुरी    

नेपालमा वाम शक्तिहरुबिच ध्रुवीकरण हुँदा मुलुकमा राजनीतिक स्थायीत्व र विकास हुन नसकेको बुझाई छ उनको । यही बुझाईका कारण कम्युनिष्ट पार्टीहरुबिच एकता हुनुपर्छ भन्ने मान्यता राख्छन । उनी भन्छन–मलाई त  एमाले, माओवादी केन्द्र मात्रै होइन बाबुराम, वैद्य, विप्लव लगायत सबै लिडरहरु एकै ठाउँमा आउनु पर्छ भन्ने लाग्छ र कोही टाढा भएको जस्तो पनि लाग्दैन । हामी सबै एकै हौं जस्तो पो लाग्छ । खै के भएर हो ? किन हो ? पार्टीचाहिं फरक फरक किन बनाउनु भएको हो ? सबै अब एउटै कम्युनिष्ट केन्द्रमा हामी अटाउन सकिन्छ । सबै बिचको एकता सबैका लागि खुशीको कुरा हो । तर यस भित्र यति ठूलो जनयुद्ध, यसका उपलब्धीको सही मुल्याङकन हुनुपर्छ । उनी फेरी फर्किन चाहन्छन जनयुद्धका ति कतिपय क्षण र पात्रहरु तर्फ । भन्छन– हामीसंगै यो मुलुकमा संघीयता, गणतन्त्र जस्तो राजनीतिक व्यवस्था ल्याउन र समाज रुपान्तरण गराउन जनयुद्धको योगदान जति छ त्यसलाई एकताका नाममा अवमुल्यन गरिनु हुँदैन । १४ बर्षको जनयुद्धको इतिहासमा हामी जस्ता धेरै योद्धाहरुले शहादत प्राप्त गर्नु भएको छ । धेरैले बलिदानी दिनु भएको छ । उहाँहरुको परिवार, वेपत्ता परिवार, कैयौं घाईते सहयोद्धाहरु अहिले पनि उपचारको अभावमा न्यूनतमा आधाररभतु आवश्यकता गाँस, वास र कपासको अभावमा हुनुहुन्छ उहाँहरुको उचित व्यवस्थापन गर्ने कुरामा आगामी कम्युनिष्ट पार्टी र यसको नेतृत्वको सरकारले विशेष रुपमा ध्यान पुरयाउनु पर्छ । अन्याय कसैमाथि हुनुहुँदैन अन्याय भयो भने त्यहाँ विद्रोहको जन्म हुन्छ, विद्रोहले फेरी विनाश निम्त्याउँछ र हामी र हाम्रा सन्ततीहरुको भविष्य फेरी पनि अन्यौलमा पर्नेछ । प्रशान्त आफनो राजनीतिक जिवनमा अरु कुनै व्यक्तिगत र पारिवारिक स्वार्थ पटक्कै नराख्ने र सहयोद्धाहरुको सामुहिक हितका लागि उनीहरुको न्यायोचित व्यवस्थापनमा विशेष जोड दिन्छन ।